बहिरोपनको समाधान “कक्लियर इम्प्लान्ट”
डा. रबिन्द्रभक्त प्रधानाङ्ग
विभिन्न कारणले कान कम सुन्ने हुन्छ जसको उपचारबाट सुन्न शक्ति पुन प्राप्त गराउन सकिन्छ । तर कानको भित्रि भागमा समस्या भई पुरै नसुन्ने भएमा साधारण उपचार वा मेसिन (हियरिंग एड)को प्रयोगबाट सुन्न शक्ति पुन प्राप्त गराउन सकिदैन । नेपालको सन्दर्भमा प्राय यस्ता समस्याले ग्रस्त मानिसहरु बहिरो भएर बस्न वाध्य छन् । तर बहिरोपन माथि विज्ञानले जित हासिल गरिसकेको अवस्थामा पनि हाम्रो समाजमा बहिराले पढ्न, संवाद गर्न, श्रम गर्न आदि जस्ता सामान्य दैनिक कार्यमा अझै पनि अपहेलना झेल्नु परिरहेको छ ।
कुनै कारणबश कान पटक्कै नसुन्ने भएमा त्यसको समाधान छैन र ?चोटपटक, ट्युमर, भित्री कानको रोग वा उमेरको कारणबाट सुनाइ शक्ति गुम्दा बजारमा पाइने मेसिन (हियरिंग एड)को प्रयोगबाट सुनाइमा उपलब्धि हन सकेन भने बाँकी जीवन बहिरो भएर बाच्न पर्ने हो त ?कतिपय नवजात शिशुहरु जन्मेजात बहिरो भएका कारण जिन्दगीभर बहिरो तथा लाटो भएर समाजबाट तिरस्कृत र अपहेलित भएर बस्नुपर्ने अवस्थाको समाधान छैन त ?समाजमा बहिरोपनलाई हाँसोको पात्रो रुपमा लिन्छन् तर बहिरो भएर बाच्ने व्यक्तिको पिडालाई हाम्रो समाजले किन नियाल्न सकेको छैन ?
सुन्नै नसक्ने व्यक्तिलाई सुन्न सक्ने बनाउन नयाँ नयाँ प्रविधिहरु यो आधुनिक संसारमा एकपछी अर्को आविस्कार हुंदैछ । प्रायःजसो बहिरोपनको समाधान संसारभर उपलग्ध भइसकेको अवस्थामा पनि नेपालमा अझै किन यो समस्या विगतमा जस्तै यथावत छ त ?यसको कारण नियाल्दा, जनमानसमा बहिरोपन तथा कानको रोगबारे चेतनाको अभाव नै मुख्य देखिन्छ । अन्य कारणमा यसको उपचारमा लाग्ने महंगो शुल्क, आवश्यक दक्ष जनशक्तिको कमि तथा उपचार पश्चात गरिनु पर्ने आवश्यक स्याहारको राम्रो व्यवस्था नहुनुलाई लिन सकिन्छ । विभिन्न आधुनिक प्रविधिहरु मध्ये सुन्न नसक्ने व्यक्तिलाई सुन्न सक्ने बनाउने संसारमा अत्याधिक प्रयोगमा आएको यन्त्र हो
“कक्लियर इम्प्लान्ट”।
के हो त “कक्लियर इम्प्लान्ट”? “कक्लियर इम्प्लान्ट”मानव कानले जस्तैसुनाइको काम गर्ने एक आधुनिक यन्त्र हो । यसको दुईवटा भाग हुन्छन् । एउटा भाग अपरेसन गरेर कानको पछाडि छाला भित्र हड्डीमा जडान गरी तार युक्त ईलेक्ट्रोडहरुलाई कानको भित्री भाग कक्लियामा राखिन्छ । अर्को भागलाई स्पीच प्रोसेसर भनिन्छ जुन छाला वाहिर रहन्छ र चुम्बकद्वारा भित्री भागसंग जोडिन्छ । बाहिर जडान गरिएको भागमा माइक्रोफोन हुन्छ जसबाट वातावरणको आवाज स्पीच प्रोसेसरसम्म पुग्दछ । स्पीच प्रोसेसरले विभिन्न ध्वनि शक्तिलाई विभाजित गरी भित्र जडान गरिएको इम्प्लान्टमा रेडियोफ्रिक्युयन्सि सिंनलबाट पठाइन्छ । यसरी आएका ध्वनी शक्ति भित्र जडान गरिएको इम्प्लान्टबाट विद्युतिय (ईलेक्टिकल) शक्तिमा परिणत हुन्छ जुन कक्लियामा राखिएको ईलेक्ट्रोडहरुसम्म पुग्दछ । त्यहांबाट यी विद्युतिय सूचना नशा (कक्लियर नर्भ) मार्फत दिमागसम्म पुग्दछ र आवाज सुनिन्छ । आवाजको पहिचान दिमागमा हुन्छ । यसरी “कक्लियर इम्प्लान्ट”ले कानको खराब भइसकेको भित्री भाग कक्लियालाई बाइपास गरी आवाजलाई दिमागसम्म पु¥याउँछ ।
कस्ता व्यक्तिलाई फाईदा गर्छ ?
१) जन्मजात कान नसुन्ने व्यक्तिमा बोलीको विकास हुँदैन र सदा बहिरो तथा लाटो भएर बस्नुपर्ने हुन्छ । आफ्नो विचार आदान प्रदान गर्न सांकेतिक भाषाको प्रयोग र दोभाषेको भर पर्नुपर्ने हुन्छ । तर यो समस्याको पहिचान बेलैमा भयो भने कक्लियर इम्प्लान्ट अपरेसन गरेर सुन्न सक्ने बनाउन सकिन्छ र वोलि विकासको तालिम दिएर बोलि लगायत भाषाको विकास गर्न सकिन्छ । यसबाट बहिरो तथा लाटो हुने व्यक्ति सक्षम व्यक्तित्वमा रुपान्तर हुन मद्दत पुग्छ । कक्लियर इम्प्लान्ट अपरेसन ३ वर्षको उमेरभन्दा अगाडि गरिएमा बोलि विकास राम्रो हुन्छ । ६,७ वर्षको उमेरसम्ममा दिमागको नयाँ विकास गर्ने क्षमता (न्यूरल प्ल्यास्टिसिटि) गुमाइसकेको हुनाले ६,७ वर्षको उमेरपछी यो अपरेसनबाट सुन्नमा मद्दत गरे पनि बोलिको विकास राम्रो हुन सक्दैन ।
२) सामान्य सुनाइ भई बोलिको पूर्ण विकास पश्चात बहिरो भएको खण्डमा कक्लियर इम्प्लान्टबाट सुन्ने क्षमता फर्काउन सकिन्छ । चोटपटक, ट्युमर, भित्री कानको रोग वा उमेरको कारणबाट सुनाइ शक्ति कम भएर हियरिंग एडको प्रयोगबाट सुनाइमा उपलब्धि हुन सकेन भने कक्लियर इम्प्लान्ट नै यसको सही समाधान हो । मेनिनजाइटिस भएर कान नसुन्ने भएमा सकेसम्म चाँडो कक्लियर इम्प्लान्ट अपरेसन गर्नुपर्ने हुन्छ । ढिलो भएमा अपरेसन जटिल हुनसक्छ र कक्लियर इम्प्लान्टको प्रयोगबाट हुने फाइदामा कमि आउन सक्छ । कक्लियर इम्प्लान्टबाट सुनिने इलेक्ट्रोनिक आवाज अलि फरक किसिमको हुने भएकोले अपरेसन पश्चात केहि हप्ता तालिमको आवश्यकता पर्छ ।
कस्ता व्यक्तिलाई फाईदा गर्दैन ?
कानको भित्री भाग कक्लिया नबनेको अवस्थामा तार युक्त ईलेक्ट्रोडहरु राख्ने ठाउं हुँदैन र कक्लियर इम्प्लान्ट अपरेसन सम्भब हुँदैन । कानको भित्री भाग कक्लियामा राखिएको ईलेक्ट्रोडहरुसम्म पुगेको विद्युतिय सूचनालाई दिमागसम्म पु¥याउने नशा (कक्लियर नर्भ) नभएको वा काम नगरिएको अवस्थामा पनि कक्लियर इम्प्लान्टबाट फाईदा हुँदैन ।
के यो विधि निक्कै महंगो छ त?
मध्यम वर्गीय परिवारको लागि लाख रुपियाँ पनि निकै धेरै लाग्छ । १० लाखभन्दा माथि खर्च गर्नु प¥यो भने पक्कै ४, ५ पटक सोच्नुपर्ने हुन्छ । यो प्रविधिले नेपालमा स्थान कम पाउनाको प्रमुख कारण महंगाई पनि हो । तर यसको प्रयोग पछी जीवनमा आउने परिवर्तनलाई हेर्दा यसलाई विश्वले महंगो मान्दैन ।
एक किसिमको अपांगतामाथि विजय प्राप्त गरेको विज्ञानको उपलब्धिलाई कसरी नेपालमा सहज बनाउन सकिन्छ भनी सरकारी निकायबाट पनि ध्यान दिन आवश्यक छ । धेरै जसो विकसित राष्ट्रहरुमा स्वास्थ्य विमाबाट खर्च पूर्ति हन्छ । भारतको तामिल नाडू राज्यमा निम्न आर्थिक वर्गका ६ बर्ष मूनिका बहिरा बच्चाहरुको लागि सम्पूर्ण सरकारी खर्चमा कक्लियर इम्प्लान्टको सुविधा छ । यसलाई एउटा उदाहरणको रुपमा लिन सकिन्छ । सुस्त श्रवण तथा अन्य कारणबाट अपांग भएकालाई विशेष सुविधामा जोड दिनुका साथै निकट भविष्यमा बहिरोपन उन्मूलन गर्ने कुनै पाइला पनि अगाडि सार्न जरुरी छ ।